हाम्रो टोल हाम्रो विकास, हातेमालो साझा निकास” भन्ने मुल नारा
तिहार उज्यालोको चाड हो । तिहार फूलको चाड हो । फूल कोमलता र सौन्दर्यको प्रतीक हो । तिहार समग्रमा पारिवारिक तथा सामाजिक पुनर्मिलन, सद्भाव अभिवृद्धि, समुन्नत र समृद्ध भविष्यको कामनाको चाड हो । परापूर्वकालदेखि हिन्दू धर्मावलम्बी नेपालीहरुले तिहार मनाउँदै आएका छौँ ।
प्रायः चाडपर्वको विगत पछ्याउँदै जाने हो भने त्यो कुनै न कुनै रूपमा धर्म वा मिथकसँग जोडिएको हुन्छ। जस्तो कि, मृत्युका देवता भनिने यमराजले आफ्नो कार्यभारबाट विश्राम लिएर बहिनी यमुनाको घरमा गएको कथा तिहारसँग जोडिने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।
यमपञ्चकमा काग, कुकुर, गाई, गोरुलगायतका चरादेखि जनावरसम्मको पूजा गरिन्छ। कागलाई शुभ सन्देशबाहक चराका रूपमा पनि लिइन्छ। तर समग्रमा यो चराहरूप्रतिको सम्मान हो। पर्यावरणीय सन्तुलनका लागि चराहरूको आवश्यकताको बोध हो। कुकुरदेखि गोरुसम्मको पूजामा पनि सम्बन्धित जनावरको स्वभावको सम्मानदेखि प्राकृतिक सहअस्तित्व र सम्मानको अर्थ जोडिएको छ।
तिहारकै बेलामा बलिराजाको नाम लिएर देउसी र भैलो खेल्ने चलन पनि छ। उदारताको प्रतीक बलिराजाको सम्मानको पनि विशिष्ट अर्थ छ। त्यसैले तिहारको आफ्नै व्यवहारिक, सांस्कृतिक, तथा मनोवैज्ञानिक महत्व छ ।
तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलनको, सामाजिकरूपमा सद्भाव अभिवृद्धिको चाड हो । दीपको उज्यालोमा धनकी देवी लक्ष्मीको पूजा-आराधना हुन्छ । तिहारको देउसी-भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । दीपावलीको उज्यालोले स्वत: उज्ज्वल भविष्यको कामना गर्छ ।
यस महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको दीपजस्तै उज्यालो बनोस्, समृद्धिको ढोका खुलोस् । समस्त नेपालीमा तिहारको हार्दिक शुभकामना दिँदै अब हाम्रो देउसी कार्यक्रम प्रस्तुत गर्ने अनुमति माग्न चाहन्छु।