Aaphno Bhanai 2082

न्यू लक्ष्मीनारायण टोलका आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, तथा यहाँ उपस्थित सम्पूर्ण टोलवासी परिवारजस्तै महानुभावहरू सबैमा हार्दिक नमस्कार र शुभ दिपावली तथा तिहार पर्वको हार्दिक शुभकामना! 🌼

आज मिति २०८२ साल कार्तिक ५ गते बुधबार, हामी सबै यहाँ एउटै उद्देश्य लिएर हाम्रो टोलबासीलाई केन्द्रबिन्दु पर्ने स्थानमा भेला भएका छौँ — एकता, प्रेम र सहयोगको भावना उजागर गर्न।
तिहारको यो रौनक, बत्तीको यो झिलिमिली, र देउसी–भैलोको रमाइलो केवल मनोरञ्जनको लागि मात्र होइन, यो हाम्रो संस्कृतिको पहिचान हो, हाम्रो आपसी सम्बन्धको नाता झनै मजबुत बनाउने एउटा सुन्दर अवसर पनि हो।

न्यू लक्ष्मीनारायण टोल विकास संस्थाले यो कार्यक्रम अघिल्लो बर्ष पनि आयोजना गरेको थियो र यस बर्ष पनि आयोजना गरेको कारण स्पष्ट छ —
हाम्रो टोल, हाम्रो घर, हाम्रो गर्व।
यस बर्ष पनि हामीले देउसी–भैलो खेल्ने निर्णय गरी यहाँ भेला भएका छौँ, किनकि यही ठाउँ, यहि गाउँ, यही टोल हाम्रो जीवनको आधार हो। यहाँकै बाटोहरूमा हामी हिड्नुपर्छ, यही देखिएका छिमेकीहरू नै हाम्रा जिउँदाका जन्ती अनि मर्दाको मलामीहरु हुन्। यही टोलले हामीलाई घर कहाँ हो भन्दा अरुलाई चिनाउँनेछ र आज पनि यही टोल हाम्रो आत्माको अंश बनेर बसेको छ। यो टोलको यति माया भइसक्यो कि बसाँइ सरेर अन्य ठाउँमा जानु नपरोस् भन्ने मनमा लाग्छ।

हामीले भन्दै आइरहेका छौँ। यस कार्यक्रममा यहाँहरूले दिने कार्तिकको दान–दक्षिणा कुनै व्यक्तिगत स्वार्थका लागि होइन।
यो दान दक्षिणा टोलकै विकासका लागि हो ।
जहाँ बाटो बिग्रिएको छ, त्यहाँ मर्मत गरौँ,
जहाँ बत्ती निभेको छ, त्यहाँ उज्यालो बनाऔँ,
जहाँ सरसफाइको कमी छ, त्यहाँ सफा र सुन्दर वातावरण बनाऔँ।
यो उठेको रकमबाट हाम्रो टोललाई अझ सभ्य, सुरक्षित र रमणीय टोल बनाउन सकिन्छ।

हामी सबैले थोरै थोरै दान दक्षिणा दिँदा, हाम्रै टोलको ठूला सपना पनि पूरा गर्न सकिन्छ।
हामी टोलको लागि काम गर्छौँ भने, त्यो टोलले नै हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँनेछ।
हामीले बनाएको बाटोमा हाम्रा छोराछोरीहरू हिँड्नेछन्, हामीले बालेको दियोमा उनीहरूले उज्यालो देख्नेछन्।

त्यसैले, यो देउसी–भैलोको बेलामा, हामी केवल गीत र नृत्यमा सीमित नहोस्, बरु हाम्रो मनमा एउटा प्रतिबद्धता पनि जगाऔँ —
हाम्रो टोललाई हामीले नै बनाउने, हामीले नै सिङ्गार्ने।
आजको हाँसो, खुषी र रमाइलो ले,  भोलिको विकासको बाटो खोल्नेछ।

यस कार्यक्रममा सहभागी भएका प्रत्येक दाजुभाइ दिदीबहिनीलाई हाम्रो संस्थाको तर्फबाट हार्दिक धन्यवाद र सम्मान।
तपाईंहरूको सहयोग, तपाईंहरूको समय, र तपाईंहरूको माया नै हाम्रो संस्थाको सबैभन्दा ठूलो शक्ति हो।

हामी सबै मिलेर प्रतिज्ञा गरौँ –
यो उज्यालो पर्वको प्रकाश झैँ, हाम्रो टोल पनि सदैव उज्यालो रहोस्।
हाम्रो टोलका सबै परिवारबीच एकता रहोस्, सद्भाव रहोस्, र माया फैलियोस्।

अन्त्यमा फेरि एकपटक भन्न चाहन्छु —
हाम्रो टोल हाम्रो गौरव हो, हाम्रो एकता हाम्रो शक्ति हो, र हाम्रो माया, साथ सहयोग नै हाम्रो पहिचान हो।
जय टोल विकास! जय एकता! जय दिपावली ! धन्यवाद।